
पोखरा, ६ असार । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।
चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज पोखरामा सफल अवतरण भएको हो ।
चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सोही जहाजबाट स्वदेश फर्किएका छन् ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनको सिचुवान प्रान्तको छेन्दुबाट चार्टड विमान मार्फत आज बिहान ९:२५ बजे पोखरा विमानस्थलमा आइपुगेको हो ।
अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोली तथा शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक गरी एक सय ३५ यात्रु पोखरामा आइपुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सिचुवान एयरलाइन्सको जहाज आजै मध्याह्न काठमाडौं उड्ने तालिका रहेको छ ।
चीनको सिचुवान एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुवान एयरलाइन्सबीच गत असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।











प्रतिक्रिया