
काठमाडौं, ३ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र विद्युत कटौती गरेर निर्यात गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा उत्पादित बिजुलीको मुलुकभित्रै खपत गरेर बाँकी रहेको विजुली मात्रै भारतमा बेच्ने गरिएको बताए ।
घिसिङले अहिले तराईका क्षेत्रमा विद्युत लोड धेरै बढेका कारण बितरण लाईन र सिस्टममा देखिएको समस्याले बत्ती जाने गरेको स्पष्ट पारे । उनले बितरण लाईनमा समस्या भएर एक घण्टा विद्युत अवरुद्ध हुँदा प्राधिकरणलाई ठूलो घाटा हुने गरेको र उत्पादन गरिएको विद्युत नै खेर जाने अवस्थाको सिर्जना हुने बताए ।
अहिले पीक आवर भन्दा अन्य समयमा उत्पादित विद्युत बढी नै हुने गरेको र त्यसलाई भारतमा बेच्ने गरिएको उनको भनाइ छ । घिसिङले अहिले नेपालको विद्युत खपत २ हजार मेगावाट पुगेको र कुल उत्पादन क्षमता २७ सय मेगावाट रहेको जानकारी दिए ।
उनले हरेक बर्ष विद्युत उत्पादन र माग बढिरहेको भन्दै समयमा नै ट्रान्समिसन लाइन बन्न नसके उत्पादन नै खेर जान सक्ने बताए । ट्रान्समिसन लाइन निर्माणमा देखिएका समस्याहरुलाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने उनको माग छ ।















प्रतिक्रिया