
काठमाडौं, ३ असार । सांसदहरुले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएकाले राहत र उद्दारमा जुट्न सरकारको ध्यानाकर्षण गारएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनीहरुले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिन र पीडितलाई राहत उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद योगेश भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा बाढी पहिरो गएको र उद्धारका लागि थप सक्रियता देखाउनुपर्ने बताए । उनले ताप्लेजुङ लगायतका स्थानमा मोटरेवल पुल समेत बगाएको, दजनौं व्यक्ति बेपत्ता भएको जानकारी गराएका थिए ।
पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको भएकाले यस बिषयमा सरकारले सदनमा सम्पूर्ण जानकारी दिनुपर्ने उनले माग गरे । भट्टराईले अवरुद्ध सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले आवश्यक व्यवस्था गर्न माग गरे ।
त्यस्तै सांसद दीपक खड्काले अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्न सरकारसमक्ष आग्रह गरे । सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको उनले बताए ।
त्यस्तै सांसद अम्मर बहादुर थापाले पूर्वी जिल्लाहरुमा बाढी पहिरोका कारण जनताले समस्या भोग्नुपरेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राखे ।















प्रतिक्रिया