५ कार्तिक २०८३, बिहिबार

मेलम्ची खानेपानी आयोजनालाई थप बजेट दिने प्रधानमन्त्री प्रचण्डको आश्वासन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइँन, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गुर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । “यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ”, उहाँले भन्नुभयो, “थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।”

प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको धारणा व्यक्त गर्नुभयो । “मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो।

सो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको थियो । उहाँले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताउनुभयो । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आउनुभएको छ ।

उहाँको साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव पनि मेलम्ची पुग्नुभएको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुन:सञ्चालन गरिएको थियो ।