२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले राष्ट्रियता खतरामाः प्रदीप ज्ञवाली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३१ जेठ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले राष्ट्रियता खतरामा परेको बताएका छन् ।

एमाले मकवानपुरले आजबाट हेटौंडामा सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले राष्ट्रियता खतरामा परेको बताएका हुन् ।

भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो उर्जाको स्रोतहरु भारतलाई जिम्मा लगाएर उनीहरुलाई खुसी पारेको भन्दै ज्ञवालीले भारतको नयाँ संसद भवनमा नेपालको भू-भाग समेटेर नक्सा राख्दा समेत प्रधानमन्त्री प्रचण्ड बोल्न नसक्नु लज्जाको विषय भएको टिप्पणी गरे । भ्रमणको क्रममा भारतले चाहेको विषयहरु ‘क्यास’मा सम्झौता गरेको भन्दै नेता ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले नेपालको हितको कुनै काम नगरेको बताए ।

उनले अहिलेको अवस्था देशभक्त शक्तिहरु देश द्रोह विरुद्ध एक भएर लाग्नुपर्ने बताए । ‘बरु पञ्चयातकालमा आम जनतामाथि दमन थियो तर राष्ट्रियताको विषयमा कमजोर निर्णयहरु भएका थिएनन्, तर गठबन्धनको सरकारले राष्ट्रियता खतरामा पर्ने कदम चालिरहेको छ, यो देशको लागि खतराको घण्टी हो ।’ नेता ज्ञवालीले भने ।

उनले अहिले देशको आर्थिक अवस्था नाजुक मोडमा पुगेको बताउँदै सरकारले बिचौलियाहरुको इसारमा बजेट निर्माण गरेर देश कंगाल पार्ने दिशामा अघि बढेको बताए । ‘देश अहिले कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्थामा पुगेको छ । तर सरकारलाई यो विषयमा कुनै चिन्ता नै छैन् । उपमहासचिव ज्ञवालीले भने, ‘उनीहरु कसरी बिचौलिया प्रयोग गरेर देशको अर्थतन्त्रलाई धरापमा पर्ने भन्ने रणनीतिमा लागेका छन्, यो सम्पूर्ण नेपालीको लागि दुर्भाग्यपूर्ण विषय हो ।’ एमाले सरकारलाई परमादेशबाट बर्हिगमन गरेपश्चात देशले दुर्दशा भोग्दै गएको भन्दै उनले गठबन्धन सरकारले देश हितबारे कहिल्यै पनि नसोच्नु गम्भिर विषय बनेको उल्लेख गरे ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक लगाएतको सहभागिता रहेको थियो ।