
काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका बिषयमा नेपाल धितोपत्र बोर्डसंग जवाफ माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरण भएकोप्रति आपत्ति जनाउँदै जवाफ माग गर्ने निर्णय गरेको हो ।
बैठकमा समिति सदस्यहरुले पुँजीबजारबारे उपसमितिले अध्ययनका लागि उपलव्ध गराएको प्रतिवेदनमा बोर्ड गम्भीर नभएको आरोप लगाएका थिए । समिति सदस्य पदम गिरीले नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि सिफरिस गरेपनि त्यसलाई लत्याएर नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढ्ने कुरा संवेदनशिल भएको बताए ।
उनले नेप्सेको प्रतिष्पर्धी भित्राउनुपर्ने अवस्थाका बारेमा बोर्डसंग जानकारी लिनुपर्ने उल्लेख गरे । गिरीले उपसमितिको प्रतिवेदनको विपरित ब्रोकर लाइसेन्स दिने बिषयमा छानविन गर्न पनि माग गरे ।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले भइरहेको नेप्सेलाई प्रभावकारी बनाउनुपर्नेमा नयाँलाई भित्राउनु उचित नभएकाले लाइसेन्स दिने काम रोक्न निर्देशन दिनुपर्ने बताए ।
त्यस्तै समिति सदस्य मेटमणी चौधरीले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका स्पष्ट हुनुपर्ने भन्दै बोर्डसंग जवाफ माग्नुपर्ने बताएका थिए ।















प्रतिक्रिया