१ कार्तिक २०८३, आइतबार

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोगोटा, २८ जेठ । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन ।

कोलम्बियामा यस्तै चमकत्कार भएको छ । देशको राष्ट्रिय सेनाले चालीस दिनअघि सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको जीवितै उद्धार गरेको छ । कोलम्बियाका अधिकारीका अनुसार उनीहरूले देशको अमेजन जङ्गलबाट तेह्र, नौ, चार र एक वर्षका बालबालिकालाई उद्धार गरेका गएराति उद्धार गरेका हुन् ।

सान होसे डेल ग्वाभियर सहरतर्फ गइरहेको सानो सेस्ना २०६ विमान अराराकुरा जङ्गलमा दुर्घटना हुँदा विमानका चालक र ती बालबालिकाका आमा र एक जना स्थानीय आदिवासी नेताको मृत्यु भएको थियो । घटनास्थलमा उनीहरूका शव भेटिएका थिए तर विमानमा सवार ती बालबालिका हराइरहेका थिए ।

विमान जङ्गलका रुखमा वृक्षझै ठडिएको अवस्थामा भेटिएको थियो । अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन् । सरकारी अधिकारीका अनुसार सशस्त्र समूहको धम्कीका कारण भागेका उनीहरू विमान दुर्घटनामा परेका हुन् ।

दुर्घटनापछि हराएका बालबालिकाको खोजी गर्न कोलम्बिया सरकारले एक सय ६० जना सिपाही र जङ्गल क्षेत्रको सम्पूर्ण जानकारी भएको ७० जना आदिवासी जनजाति सम्मिलित एक विशाल टोली परिचालन गरेर खोजी प्रारम्भ गरेको थियो जसले विश्व समुदायको ध्यान आकर्षित गरेको थियो ।

हिंस्रक जङ्गली जनावर, विषालु सर्प र सशस्त्र लागूऔषध तस्कर समूहको आधार इलाकामा उनीहरूको खोजी गर्नु चानचुने काम थिएन तर खोजी टोलीले खुट्टाको छाप, एक डाइपर, आधा खाएको फल भेटेपछि आफू सही बाटोमा रहेको विश्वासका साथ खोजीलाई निरन्तरता दिएको थियो ।

उद्धार टोली केटाकेटीहरू भौतारिन सक्ने र भेट्टाउन अझ गाह्रो हुने चिन्ताले ग्रसित थियो । वायुसेनाले दश हजारभन्दा बढी पर्चा स्पेनिस र बालबालिकाको आफ्नै आदिवासी भाषामा छापेर जङ्गलमा फ्याँकेको थियो जसमा उनीहरूलाई कतै नजान अनुरोध गरिएको थियो ।

ती पर्चामा भयावह त्यस जङ्गलमा कसरी बाँच्ने भन्नेबारेमा सुझाव पनि समेटिएका थिए भने खानाका थैला र पानीका बोतल पनि खसालिएका थिए । साथै उद्धारकर्ताले बालबालिकाकी हजुरआमाले रेकर्ड गरेको सन्देश पनि ‘लाउड स्पिकर’बाट बजाउँदै उनीहरूलाई कतै नजान आग्रह गरेका थिए । अन्ततःती बालबालिका दुर्घटनास्थलबाट करिब पाँच किलोमिटर पश्चिममा फेला पारेका थिए ।

बेपत्ता ती बालबालिकामध्ये केही शिकार गर्न र माछा मार्न अभ्यस्त रहेका तिनका हजुरबुबा फिडेन्सियो भ्यालेन्सियाले एएफपीलाई बताएका थिए । साथै उनीहरू जङ्गलसँग राम्ररी परिचित पनि थिए ।

राष्ट्रपति गुस्ताभो पेट्रोले उनीहरुको जीवितै उद्धार गरिएको घोषणा गर्दै “आज हामीले एउटा चमत्कारपूर्ण दिन बिताएका छौँ” भनेका छन् । हेलिकप्टरबाट उनीहरूको उद्धार गरिएको हो । बालबालिकाको स्वास्थ्यस्थिति नाजुक भएकाले तत्काल अस्पताल पुर्‍याइएको छ । राष्ट्रपतिले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा सैन्य पोशाकमा रहेका केही मानिसका माझमा उद्धार गरिएका कमजोर बच्चा देखिन्छन् भने एक जना उद्धारकर्ताले सबैभन्दा सानो बच्चालाई काखमा राखेर उसको मुखमा दूधको बोतल राखेको देखिन्छ । एएफपी