
काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको भन्दै करको दर हेरफरेका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नभएको बताएका हुन् ।
उनले राजश्व परामर्श समितिको सुझाव र आन्तरिक छलफलबाट नै बजेटलाई अन्तिम रुप दिएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने जिकिर गरे ।
बजेट निर्माणमा संलग्न भनिएका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले आधिकारीक निर्णय भएको कुरालाई टाइप गर्ने काम गरेको र निर्णय प्रक्रियामा संलग्न नरहेको उनले बताए ।
मन्त्री महतले आफू मन्त्रालयमा आउनुभन्दा अगाडि नै सहयोगीका लागि श्रेष्ठको नियुक्ति भइसकेको बताए । विद्युतिय गाडीको बिषयमा महतले सानो क्षमताका लागि कम कर र ठूलो क्षमताका लािग त्यही अनुसारको कर लगाइएको भन्दै केही विरोधीहरुले अनावश्यक हल्ला फैलाएको धारणा राखे ।
प्रभाव र दवावमुक्त भएर काम गर्ने प्रतिवद्धताका साथ अर्थमन्त्रालयमा छिरेको भन्दै त्यही प्रतिवद्धताका आधारमा आफूले काम गरेको उल्लेख गरे ।















प्रतिक्रिया