
काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दलहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बिषयमा संसदीय छानविन समिति बनाउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरुले करका दरहरु परिवर्तन गर्ने कार्यमा अनधिकृत व्यक्तिको प्रवेश गराइएको र त्यसले निश्चित घरानाहरुलाई फाइदा हुने काम भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरेका हुन् ।
बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले करका दरहरू परिवर्तन गर्ने कार्यमा अनधिकृत व्यक्ति प्रवेशका बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरे । उनले करका दर परिवर्तन हुने सूचना चुहाएर रातारात ठूलो संख्यामा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाल ल्याइएको जिकिर गरे ।
त्यस्तै रास्वपा सांसद डा स्वर्णीम वाग्लले यसअघि करका दर फेरफेरको आरोप लगाएपछि अर्थमन्त्रीले नै राजीनामा दिनुपरेको भन्दै अहिलेको सरकारले पनि यस बिषयमा स्पष्ट पार्नुपर्ने बताए ।
वाग्लेले कसैलाई फाइदा हुने गरि करको दायरा हेरफेरको प्रसंगले झस्काएको बताए । एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिको नियुक्ती प्रक्रियाका बारेमा पनि उहाले प्रश्न गरे ।
त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले विधि र प्रक्रिया मिलाएर भ्रष्टाचार गरिएको बिषयमा संसदीय समिति गठन गरेर छानविन गर्नुपर्ने धारणा राखे । उनले विद्युतीय सवारीमा लगाइएको भन्सार दरले पनि आशंका उत्पन्न भएको जिकिर गरे ।















प्रतिक्रिया