४ कार्तिक २०८३, बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनको बाटो खुलेको छ ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आईएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिएका हुन् ।

‘भारत सरकारले नेपाल–भारत सीमानजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ,’ प्रधानमन्त्री दाहालले भने । उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी पनि दिएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन ।

यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए । यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो ।

हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर, र्आइएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ देखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।