
काठमाडौं, १५ जेठ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने योजनासहित बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि मात्रै २ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको बताए । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने उनले बताए । अतिथी देवो भव भन्ने नेपाली संस्कृति अनुरूप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिने समेत बजेटमा उल्लेख छ ।
सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने महतले जानकारी दिए । सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने, हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने मन्त्री महतको भनाइ छ । महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रिय विमानस्थलको रूपमा विकास गरिने बताए ।
त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने महतले जानकारी दिए । उनले दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत घोषणासमेत गरे ।
त्यस्तै सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।















प्रतिक्रिया