
काठमाडौं, १२ जेठ । साँझ ६ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलि शनिबार अपरान्ह ४ बजेका लागि सरेको छ ।
यसअघि आजै दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो ।

प्रतिनिधि सभाको आजको बैठकमा पशुपतिको जलहरीबारे प्रश्न उठेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोध पछि बैठक स्थगित भएको थियो ।

एमालेका सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।
संसद बैठक अवरुद्ध भएपछि सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक बसेको थियो । तर बैठकले कुनै पनि निचोड निकाल्न नसकेपछि प्रतिनिधि सभाको बैठक बस्न नसकेको बताइएको छ ।
नेकपा (माओवादी)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर अध्यक्ष ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।
एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । त्यसपछि संसद बैठक बस्न सकेको थिएन ।
संसद सचिवालयका अनुसार आजको बैठक भोलि अपरान्ह ४ बजेका लागि सरेको छ ।












प्रतिक्रिया