२९ आश्विन २०८३, बिहिबार

अवैध लागूऔषधसहित ८ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६ सय २० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का ४१ वर्षीय तेम्बा शेर्पालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको टीकापुर नगरपालिका–९ खर्गौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित जानकी गाउँपालिका–४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका–१२ बस्ने २४ वर्षीय सुबास पुन पक्राउ परेका छन् ।

यस्तै, सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेखलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित गएराति प्रहरीले पक्राउ गरेको हो ।