३० कार्तिक २०८३, सोमबार

एक मन्त्रालयसहित लोसपा मधेश सरकारमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशङ्कर मिश्रले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ गराए ।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुंगो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुंगो लाग्ने बताइएको छ ।

सत्तारूढ गठबन्धनको बैठकले मधेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेश प्रदेशमा अब पाँचौँपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

मधेश सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् ।