३० कार्तिक २०८३, सोमबार

नेकपा एसका केन्द्रीय सचिव विश्वासीसहित तीन सयभन्दा बढी नेताकार्यकर्ता एमालेमा फर्किए

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ७ जेठ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासी, दुईजना केन्द्रीय सदस्य, दाङ जिल्ला कमिटीका अध्यक्षलगायत पदाधिकारीलगायत दाङका नेताकार्यकर्ताहरू नेकपा (एमाले)मा समाहित भएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले शनिबार तुलसीपुरमा आयोजित नेत्रलाल पौडेल अभागीको ४०औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनीहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।

सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मी, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला कमिटीका अधिकांश सदस्यहरूसहित करिब चार सयजना एमालेमा फर्किएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कम्युनिष्ट नेता नेत्रलाल अभागीले पार्टीका लागि खेलेको भूमिका प्रेरणाको रूपमा रहेको बताए । उनले जति–जतिबेला पार्टीमाथि संकटको चुनौती उत्पन्न हुन्छ, त्यतिबेला आफूहरूले नेत्रलाल र उनको योगदान अनि प्रेरणालाई सम्झिने गरेको बताए ।

समग्र कम्युनिष्ट आन्दोलन विभाजनको पीडाबाट गुज्रिरहेको बेला दाङको कम्युनिष्ट आन्दोलनलाई जोगाउन नेत्रलालले खेलेको महत्वपूर्ण र अगुवा भूमिकाको महासचिव पोखरेलले स्मरण गरे ।

महासचिव पोखरेलले पार्टीले देश बनाउने स्पष्ट नीति, विचार र गन्तव्य बोकेर अगाडि बढिरहेकाले कहिल्यै पनि पुरानो नहुने बताए । महासचिव पोखरेलले समाजमा लोकप्रियता हासिल गरेकै कारण राजनीतिमा आउनेहरूलाई देशको चिन्ता नहुने र देश नबनाउने बताए ।

युक्रेनमा एउटा हास्य कलाकारलाई जनताले राष्ट्रपति बनाउँदा उनी पश्चिमा शक्ति राष्ट्रको स्वार्थको घोडा बनेर अगाडि बढ्न खोज्दा आज युक्रेन तहस नहस भइरहेको उदाहरण प्रस्तुत गर्दै महासचिव पोखरेलले नेपालमा पनि देश बनाउने कुनै लक्ष्य, उद्देश्य र नीति नभएकाहरू समाजमा लोकप्रियता हासिल गरेकै आधारमा राजनीतिमा आएका र तिनीहरूले समाज परिवर्तन गर्न नसक्ने बताए ।

नेपालका राजनीतिक दलहरूले लामो समयसम्म व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नु परेकाले आफूलाई देश निर्माताका रूपमा स्थापित गर्न नसकेको यथार्थ हो भन्दै महासचिव पोखरेलले त्यसकै आधारमा कांग्रेस र एमालेलाई पुराना भए भन्नु गलत हुने बताए ।