२९ आश्विन २०८३, बिहिबार

पूर्वबजेट प्रस्ताव आशा लाग्दो छैन, अर्थतन्त्र सुधार्ने नीति चाहियो : रवि लामिछाने (भिडिओ)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री प्रकाशशरण महतले संसदमा पेश गरेको पूर्वबजेट प्रस्ताव आशालाग्दो नभएको बताएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा पार्टीका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामछिानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताएका हुन् ।

अहिलेको अवस्था असाधारण रहेको र त्यो असाधारण अवस्थालाई सम्बोधन गर्ने ठोस नीतिसहितको प्रस्ताव आउनुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।

अर्थतन्त्रलाइ सही बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अंगीकार गर्न सरकारलाई उनले सुझाव दिएका छन् ।

हेर्नुहोस् भिडिओ–

 

लामिछानेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रुपमा रहेको बताएका छन् । अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यावहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने उनको भनाइ छ ।

‘विगत केही वर्षका यिनै दस्तावेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रुपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ । अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव हुँदैन,’ उनले भने ।

विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता भएको बताउँदै उनले भने, ‘सधैँ एउटै कुरा गर्ने तर नतिजा फरक अपेक्षा गर्ने हाम्रो बानी हो कि, जनतालाई झुक्याउने खेल ? हामीले आशाका पुलिन्दा पस्किने हो कि, समाधान उन्मुख व्यावहारिक नीति बनाउने हो,’ उनले प्रश्न गरे ।

विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभइ आन्तरिक कारणले बढी सिर्जना भएको उनको भनाइ छ । ‘हाम्रो आफ्नै राजनीतिक बेथिति, विसङ्गति र सङ्गठित रुपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो,’ लामिछानेले भने, ‘योजनाहरु समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशातित प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैरकानुनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो । बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन ।’