३० कार्तिक २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ: उपाध्यक्ष महरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराधमा संलग्न कसैलाई पनि सरकारले छाड्नुहुँदैन, यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।’

उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताए ।

इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको पनि उनले बताए।

राजनीतिक प्रसङ्ग जोड्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेको पनि बताए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सरकार जनतासँग गरेको प्रतिबद्धता अनुरुप अघि बढिरहेको दाबी गरे । माओवादी केन्द्रसहित छ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको पनि उनले बताए ।