
काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा भेटवार्ता भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न नेताहरू जोडिएको चर्चा चलेसँगै पछिल्लो केही दिनयता प्रचण्ड र केपी ओलीबीचको भेटवार्ता बाक्लो बन्दै गएको छ ।
यो प्रकरण उजागर गएपछि दुई नेताबीच आज भएको भेट दोस्रो हो । यसअघि उनीहरूले तीन दिनअघि भेटवार्ता गरेका थिए ।
आजको भेटवार्तापछि दुबै जना नेताले पत्रकारहरूसँग खुलेर कुरा गर्न चाहेनन् । तै पनि पत्रकारहरूको जबरजस्तीबीच उनीहरूले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
एमाले अध्यक्ष ओलीले शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिएका छन् । बरु पत्रकारहरूले नै खोजी गर्नुपर्ने तर्क उनले गरेका छन् ।
यस्तै, अभियुक्तलाई जोगाउन एमाले लागेको भन्ने कुरा एमाले मन नपराउनेहरूले चलाएको हल्ला मात्रै भएको ओलीले बताएका छन् । कानुनबमोजिम हुने कुरा कसैले जोगाउने र फसाउने भन्ने नै नहुने उनको भनाइ छ ।
यसैगरी प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो प्रकरणमा आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने बताउँदै उनले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने स्पष्ट पारेका छन् ।
प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जाने र दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट अघि बढ्ने उनको भनाइ छ । भेटमा ओलीले नेता रायमाझीको बारेमा चासो राखे पनि कानुनबमोजिमको कुरालाई रोक्ने मनस्थितिमा नरहेको प्रचण्डले बताएका छन् ।















प्रतिक्रिया