
काठमाडौं, २१ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाउन नहुने बताएकी छिन् ।
आज बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा उनले कुनै पनि विषयको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने बताएकी हुन् ।
कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिला विज्ञापनको साधन बन्नेकुरा आफैँमा गलत रहेको बताइन् । विज्ञापनको कन्टेन्ट लैङ्गिक संवेदनशील हुनुपर्नेमा उनले जोड दएकी छिन् ।
‘विज्ञापनको कन्टेन्ट लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतै पनि घोचपेच गरिएको हुनु हुँदैन । हाम्रो संविधान र कानुनमा भएको कुरा उल्लङ्घन भएको हुनु हुँदैन,’ मन्त्री शर्माले भनिन् ।
‘कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन,’ प्रश्न गर्दै मन्त्री शर्माले भनिन्, ‘महिलाको सुन्दरताका कारणले हो भनिन्छ तर त्यसो होजस्तो मलाई लाग्दैन । सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा पनि हुन्छ ।’
सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्नेकुरा आफैँमा बेठिक भएको बताउँदै उनले विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाएर लैजानुपर्नेमा जोड दिएकी छिन् ।














प्रतिक्रिया