
चौतारा, २१ वैशाख । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रंगशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन ।
विसं २०७६ मा निर्माण थालिएको मिनि रंगशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो ।
रंगशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा गिरी कन्सट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।
डिपिआरमा उल्लेख गरिएअनुसार रंगशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रंगशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ ।
निर्माण व्यवसायीले निर्माण सामग्री छरपष्ट पारेका छन् । जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार रंगशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेललकुदका गतिविधि ठप्प छन् । उनका अनुसार निर्माण सामग्री थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन । “ठेकदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । कसैले यसमा चासो दिएको देखिएन”, श्रेष्ठले बताए ।
निर्माण व्यवसायीको ढिलासुस्तीपछि चौताराका युवाले आफैँले खर्च गरेर मैदानलाई सम्याएका छन् ।
“केही न केही खेलकुदका गतिविधि गर्न पर्यो भनेर हामीले आफैँले खर्च जुटाएर मैदान सम्याएका हौँ”, लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भने । चौतारा साँगाचोकगढी नगरपालिका–५ टुँडिखेलमा रंगशाला निर्माण गर्न लागिएको हो ।















प्रतिक्रिया