
काठमाडौं, १९ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगी र एकताबद्ध बनाउन आवश्यक रहेको बताएका छन् ।
एमाले काठमाडौँ महानगरपालिका कमिटीद्वारा आज आयोजित मिसन ग्रासरुट अभियान र सम्मान तथा प्रशिक्षण कार्यक्रममा उउनले पार्टीलाई नयाँ ढङ्गबाट शुद्धीकरण गर्दै एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
एमालेको मजबुत सङ्गठनलाई पुनर्ताजगीका साथ एकताबद्ध बनाउन आवश्यक रहेको बताउँदै उनले पार्टी सुदृढ, शुद्ध, एकीकृत र गतिशील हुनुपर्नेमा जोड दिएका छन् । ‘यो पक्षलाई भाग, ऊ पक्षलाई भाग पार्टीभित्र हुँदैन । योग्यता, क्षमता, सक्रियता, योगदानलाइ हेरेर पार्टीले जिम्मेवारी दिन्छ,’ अध्यक्ष ओलीले भने ।
सङ्गठन सुदृढीकरणका लागि सञ्चालन भएको मिसन ग्रासरुट अभियान अझ नपुगेको र यसलाई निरन्तरता दिनुपर्ने उनले बताएका छन् । ‘अझ संयमित ढङ्गले कमिटी निर्माण, परिचालन, सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्नुपर्दछ,’ उनले भने ।
एमाले कार्यकर्ताको इमान, निष्ठा र आदर्शको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, ‘एमालेका कार्यकर्ता बेइमान हुँदैनन् । बेइमान छ भने त्यो एमाले कार्यकर्ता होइन ।’ नयाँ पुस्तालाई विभिन्न सङ्गठनमार्फत उत्तराधिकारीका रूपमा पार्टीमा ल्याउनुपर्ने उनले बताए ।














प्रतिक्रिया