
मोरङ, १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मजदुरको हक अधिकार दिलाउन प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश समितिद्वारा सोमबार यहाँ आयोजित अन्तर्राष्ट्रिय श्रमिक (मे) दिवसका अवसरमा उनले मजदुरको हकहितका लागि प्रदेश सरकारको उद्योग मन्त्रालयसहित एक सय ३७ पालिकाअन्तर्गत श्रमिक डेस्कस्थापनाका लागि कानून निर्माण गरी उनीहरूको अधिकार सुरक्षित राख्ने व्यवस्था गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशअन्तर्गतका सबै ठूला तथा साना उद्योगमा मजदुरहरूका समस्या समाधानका लागि एक अनुगमन समूह बनाई समाधानका लागि आगामी वर्षदेखि कार्य गर्ने जानकारी दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्थितरूपमा लागू गर्न, श्रमिक हकहितको कानून निर्माण गर्न संघीय सरकारसँग आवश्यक पहल गर्ने विचार व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले मजदुरहरूको अधिकार रक्षा र संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै उनीहरूका समस्या समाधान गर्न युनियनको नेतृत्व समूहसँग आवश्यक सुझाव लिई आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्ने बताए ।
जिफन्टका कोशी अध्यक्ष किशोर धमला, उद्योग संगठनका प्रदीप मुरारका, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल शारडा, पेसागत महासंघका ओम सुवेदी, उद्योग कलाकारखाना केन्द्रीय उपाध्यक्ष मनोज मगर र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले योगदानमा आधारित सुरक्षा कोष स्थापनामा फन्टको महत्त्वपूर्ण योगदान रहेको बताए ।















प्रतिक्रिया