३० कार्तिक २०८३, सोमबार

बुबाको जेलमा मृत्यु, आमा जेलमै, छोराको बिचल्ली

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलेश्वर, १६ वैशाख । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।

म्याग्दीको बेनीनगरपालिका–९, घतानका छ वर्षीय अवोध बालक खड्का आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेका हुन् । अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिएका छन् ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरे पछि निमेशकी आमा मनिषा जेल जीवन बिताइरहेकी छन् भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरेका छन् ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएका छन् । निमेशलाई वरुवालले बेनी कै समता विद्यालयमा पढ्न पठाउँछन् । “पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटल मै राखेको छु”, बरुवालले भने ।

जेलभित्रै रहेकी निमेशकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन देशविदेशमा रहेका मनकारी व्यक्ति र संघसंस्थासँग अपिल गरेकी छन् ।

आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालन पोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुनमान्ने उनले बताइन् । “छोरालाई बाँच्न र पढ्न सघाउनु होला, जेलबाट छुटेपछि जीवन भर तपाईँको सेवा गर्नेछु”, मनिषाले भनिन् ।

विदेशमा छु भन्दै छोरालाई फोन

कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै । अभिभावकजस्तै खराब भए पनि उसले आफ्ना सन्तान खराब होउन् भन्ने चाहँदैनन् । मनिषाले पनि आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गरेकी छन् ।

“आमाछोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भाबुक हुन्छु”, होटल शिखरका सञ्चालक बरुवालले भने । मनिषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै फर्कने बताउने गर्ने गरेकी छन् ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ बमोजिम पुनारावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गरेकी छन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनिषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ ।

वडाको पहलमा सहयोग जुटाइँदै

यता बेनीनगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए। “अवोध बालक निमेशको भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ”, वडा अध्यक्ष केसीले भने ।

उनले निमेशको नाममा माछापुच्छे« बैकमा खाता खोलिएकाले Nimeshkhadka, 0160969886900015 Machhapuchhre Bank Beni Branch खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाइ पूरा गर्ने बताए । सन्तानको सबभन्दा ठूलो खुशी आमा हुने भएकाले आमाको अभाव हुननदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । रासस