
काठमाडौं,१५ वैशाख । आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन्।
गत सोमबार काठमाडौँमा गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको ‘प्रसाद २’ शृङ्खलाबद्ध रूपमा आएको चलचित्र हो । ‘प्रसाद’ कै कथालाई अगाडि बढाइएको लेखक सुशील पौडेलले जानकारी दिए।
अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गरेका छन्।
मूल कथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, विशाल पहाडी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै नेपालमा शृङ्खलाको रुपमा चलचित्र निर्माणको सुरुआत गर्ने ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खला प्रदर्शनमा आएको छ । विगतमा निर्माण भएका पाँच शृङ्खलाले दर्शकको मन जितेपछि निर्देशक विकासराज आचार्यले पटकथाकार सामीप्यराज तिमल्सेनासँगको सहकार्यमा यसलाई तयार गरेका हुन्।
चलचित्रमा आँचल शर्मा, प्रियङ्का कार्की, केकी अधिकारी, सरोज खनाल, आशिर्वाद क्षेत्री, अथर्व उप्रेतीलगायतको अभिनय छ । यसपटकको कथामा बालप्रेममा मात्र केन्द्रित नभई विभिन्न पक्षलाई समेटिएको पटकथाकार तिमिल्सिनाले जानकारी दिए ।
अर्को प्रदर्शनमा आएको चलचित्र ‘कैदीको पत्र’लाई सनमकुमार बैरागले निर्देशन गर्नुभएको हो ।
एक युवक, उसको वरपर सम्बन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको चलचित्रमा जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई प्रस्तुत गरिएको छ ।
साहित्यकार स्व ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा आधारित रही तयार चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्कीलगायतले अभिनय गरेका छन्।















प्रतिक्रिया