काठमाडौं, १० जेठ । म्याग्दी जिल्ला राम्चे–९ स्थित काफल डाँडाबाट आइतबार विहानदेखि निरन्तर खसिरहेको पहिरोबाट कालीगण्डकी नदी अवरुद्ध हुँदा १५० मिटर गहिरो ताल बनेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी हिरा बहादुर गिरीले दिएको जानकारी अनुसार राम्चे–९ स्थित काफल डाँडा मुनी रहेका खाली घर बस्तीमा १ किलोमिटर लम्बाई तथा १५० मिटर गहिरो ताल बनेको हो ।
ठूलो ताल बनेपछि डाँडा तल रहेका गाउँ पुरिएका छन् । गाउँका वासिन्दालाई दुई अगाडी नै सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाले कुनै मानवीय क्षति नभएको डिएसपी गिरीले बताउनुभयो ।
बैशाख १२ गते र २९ गते गएको बिनाशकारी भूकम्पको प्रभावबाट काफल डाँडा क्षेत्रमा पहिरो जाने सम्भावना देखिएपछि प्रहरीले त्यहाँका बैसरी तथा भगवती गाविस–२ मा रहेका १६ परिवारका १२३ जनालाई जेठ ८ गते नै सुरक्षित स्थानमा सारेको थियो ।
बेनी बजारस्थित कालिगण्डकी नदी किनारको कारागार जोखिम अवस्थामा रहेको हुँदा ९९ कैदीहरुलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरि सकिएको छ ।
अवरुद्ध नदीमा बनेको तालबाट कालिगण्डकी नदीको बहाव मार्गमा रहेका म्याग्दी देखि नवलपरासी जिल्लासम्मका विभिन्न गाविसका बस्तीहरुमा जोखिम हुन सक्ने हुँदा स्थानीयस्तरमा रहेका प्रहरी कार्यालयहरुबाट सवैलाई सजग र सर्तक रहन जानकारी गराई सुरक्षित रहन समेत अनुरोध गरिएको छ ।
उक्त पहिरोबाट अवरुद्ध नदी र बेनी जोमसोम मोटर बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगी सकेको भएता पनि पहिरो खस्ने क्रम जारी नै रहेकोले उद्धार कार्य सुरु हुन सकेको छैन ।












प्रतिक्रिया