काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मजदुर आन्दोलनका दश हजार बढी ऐतिहासिक दस्तावेजहरुलाई ‘र्याकदेखि स्क्रिनसम्म’को मूलभावमा कृतिम बौद्धिकता (एआई)मा आधारित पुस्तकालयलाई डिजिटल घरमा रुपान्तरण गरेको छ ।
जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत जिफन्टले सन् १९९४ मा स्थापना गरेको स्रोत केन्द्र (एनएलआरसी)ले भौतिक पुस्तकालयका रूपमा आफ्नो यात्रा सुरु गरेको थियो ।
एनएलआरसीले आइतबार एक समरोहबीच ‘एआई’ युगको मर्मलाई आत्मसात् गर्दै मजदुर आन्दोलनका बहुमूल्य भौतिक अभिलेखालयलाई एक जीवन्त डिजिटल घरमा रूपान्तरण गरेको हो । त्यसका साथै जिफन्टले श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकको समेत विमोचन गरेको छ ।
‘श्रम आन्दोलनको परम्पराको संरक्षण गर्न, ज्ञान र मानिसबीचको सम्बन्ध स्थापित गर्न, कामको भविष्य सशक्त बनाउन.., सम्पर्क गरौँ ! सिकौँ ! काम गरौँ !’भन्ने मूल ध्येयका साथ एआईमा आधारित डिजिटलक नयाँ अध्याय सुरु गरिएको जिफन्टले जनाएको छ ।
‘आज राष्ट्रिय श्रम स्रोत केन्द्रमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी पुस्तक, अनुसन्धान प्रतिवेदन, आवधिक प्रकाशन, तस्वीर, भिडियो तथा अन्य महत्त्वपूर्ण सामग्रीहरूको संकलन छ । यसको विस्तार निरन्तर भइरहेको छ,’ जिफन्टका संरक्षक विष्णु रिमालले एआईमा आधारित दस्तावेज डिजिटलाइजेसनसम्बन्धी जानकारी गराउँदै भने ।
सार्वजनिक गरिएको डिजिटल घरमार्फत् ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आफूलाई आवश्यक ज्ञान र सूचना एउटै खोजमार्फत केही सेकेन्डमै प्राप्त गर्न सकून् भन्ने उद्देश्य जिफन्टले राखेको छ । राष्ट्रिय श्रम स्रोत केन्द्रलाई सूचनाको भण्डारमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको अन्तरक्रियात्मक मञ्चमा रूपान्तरण गर्ने उद्देश्यका साथ जिफन्टले ‘ज्ञान बाँडौँ, साझेदारी विस्तार गरौँ ! ज्ञान बाँडेर नै ज्ञानको विस्तार हुन्छ !’ नारा अघि सारेको छ ।
राष्ट्रिय श्रम स्रोत केन्द्रले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को पुस्तकालय लगायत समान प्रकृतिका ज्ञान केन्द्र, डिजिटल अभिलेखालय तथा अन्तर्राष्ट्रिय पुस्तकालयहरूसँग संस्थागत साझेदारी विकासको प्रयासलाई समेत अघि बढाएको जिफन्टले जनाएको छ ।
हाल परीक्षण चरणमा सञ्चालन भइरहेको यो एआईको प्रयोगका लागि प्रयोगकर्ताहरूले सेवा लिनका लागि नेशनल लेबर रिसोर्स सेन्टर (एलआरएस) कार्यालय अनामनगर काठमाडौंमा उपस्थित भएर उपलब्ध सामग्री तथा सेवाहरूको उपयोग गर्न सक्नेछन् । डिजिटलीकरण प्रक्रिया अघि बढ्दै जाँदा र आवश्यक प्रणालीहरू सञ्चालनमा आएपछि केन्द्रले आफ्ना सेवाहरू एपमार्फत विस्तार गर्ने जनाएको छ ।
सुरुमा जिफन्ट ट्रेड युनियन स्कुलका शैक्षिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले यो केन्द्र स्थापना गरेको थियो । केन्द्र क्रमशः श्रमिक शिक्षा, युवा नेतृत्व विकास तथा प्राविधिक सीप अभिवृद्धिमा सहयोग पुर्याउने प्रशिक्षण तथा स्रोत केन्द्रका रूपमा विकसित भएको थियो । यही परम्परालाई निरन्तरता दिँदै राष्ट्रिय श्रम स्रोत केन्द्रले अहिले श्रमको संसारप्रति समर्पित डिजिटल ज्ञान केन्द्रका रूपमा आफूलाई रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षी नयाँ यात्रामा अघि बढेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आईटीयूसी–एपीका महासचिव शोया योशिदाले जिफन्टलाई यो रचनात्मक कार्यका लागि धन्यवाद दिदै नयाँ पुस्तामा ज्ञान बाँडेको भन्दै प्रशंसा गरे । महासचिव योशिदाले भने, ‘मजदुरको चाहना फरक–फरक हुन सक्छन् । परस्पर सम्मान र हितका लागि लोकतान्त्रिक गरेर जाने हो । जिफन्टको यो अभियानले एसियको ट्रेड युनियनलाई नभई संसारभरीका मजदुर आन्दोलनलाई टेवा पुर्याएको छ ।’
कार्यक्रममा एजुकेशन इन्टरनेसनल एपीका क्षेत्रीय निर्देशक आनन्द सिंह, पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)का क्षेत्रीय प्रमुख कन्नन, बीडब्ल्युआईका अपोलिनार टोलेन्टाइन, डब्ल्युएसएमका ब्रुनो, आईटीयूसी एपीका पातुआन, सोलिडारिटी सेन्टरकी लुना रञ्जितको विशेष उपस्थिति थियो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन मन्तव्य युएनआईका महासचिव राजेन्द्र आचार्यले राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले अन्तमा सहभागी पाहुनाहरुलाई कृतज्ञता ज्ञापन गरेका थिए ।












प्रतिक्रिया