
काठमाडौं, ३ बैशाख । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।
बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ । सिमराको उडान भर्खरै खुलेको छ ।
पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन । तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।
विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन् । तीनदिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो । गत शुक्रवार र शनिवार पनि पोखराको उडान प्रभावित भएको थियो ।















प्रतिक्रिया