काठमाडौं, १५ वैशाख । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको संविधानसभाको मस्यौदा समितिको सभापति बन्ने चाहना थियो । शीर्ष नेतामध्ये एकले नेतृत्व लिने भनिएकाले पार्टीभित्र उनैको नाम चर्चामा थियो । तर, निर्णय गर्दा प्रधानमन्त्री सुशील कोइरालाले पौडेललाई नभई महामन्त्री कृष्णप्रसाद सिटौलालाई छाने र उनी नै सभापति भए ।
कोइरालाले संसदीय दलको नेता हुँदा पौडेललाई कार्यवाहक सभापति दिने सहमति गरेका थिए । सहमतिअनुसार पौडेलले कोइराला प्रधानमन्त्री भएको केही दिनपछि नै कार्यवाहक सभापति दिन आग्रह गरे । पौडेलले कोइरालालाई माघ ११ मा संसदीय दलको कार्यालयमा दलको नेताको निर्वाचन हुँदा भएको सहमतिलाई स्मरण पनि गराए ।
तर, कोइरालाले हस्ताक्षर नभएको त्यस्तो सहमति नमान्ने स्पष्ट संकेत गर्दै भने, ‘तपाई उपसभापति हो, तपाईंले नै पार्टीको सबै काम गर्दै जानुहोस्’ यी दुई घटनाबाट पौडेललाई अनुभूति भएको छ, ‘कोइराला मलाई महत्वपूर्ण कुनै जिम्मेवारी दिन तयार छैनन् ।’
कोइरालाले पौडेललाई कार्यवाहक सभापति दिने सहमति गर्दा नेताहरू महेश आचार्य, आनन्द ढुंगाना, शेखर कोइराला, दीपकुमार उपाध्याय साक्षी थिए । साक्षीमध्येका एक शेखर कोइरालामात्र सार्वजनिक रूपमै प्रधानमन्त्रीले पौडेललाई कार्यबाहक सभापति दिनुपर्नेमा जोड दिएका छन् । साक्षीमध्येका अरू मौन छन् ।
‘प्रधानमन्त्री भएपछि सुशील दाले पार्टी चलाउन सक्नुहुन्न । यसले पार्टी लथालिंग हुन पुगेको छ । त्यसैले कार्यबाहक दिनुपर्छु कोइरालाले भने, ‘जिल्लाका पच्चीसवटा सभापति सभासद् छन । उनीहरु संसदमा व्यस्त भएपछि जिल्लालाई ध्यान दिन सकेका छैनन् । पहिला सुशील दाईले कार्यबाहक दिएर बाटो खुला गरिदिनुपर्छ ।’
जति दबाव आए पनि कोइराला कार्यबाहक दिन तयार छैनन् । मध्यमार्गी छवि बनाएका पौडेललाई यतिबेला संस्थापन पक्षबाटै चेपुयामा पर्न थालेको महसुस हुन थालेको छ । मस्यौंदा समितिमा सिटौलालाई ल्याउने निर्णयप्रति उनी सन्तुष्ट छैनन् । पदाधिकारी बैठकमा कोइरालाले पौडेलको नाम नलिई सिधै महामन्त्री सिटौलाको नाम प्रस्तावित गरेपछि पौडेल र कोइरालाबीच अविश्वास बढेको छ ।
कोइराला पौडेल संयोजक रहेको पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले आयोजना गरेको मेची-काली अभियानप्रति पनि सन्तुष्ट छैनन् । अभियानमा सरकार र पार्टी संचालनलाई लिएर आफ्नो आलोचना भएपछि बैशाख ८ मा विराटनगरको कार्यक्रममा कोइराला झोक्किए पनि । पौडेलप्रति लक्षित गर्दै पार्टीभित्र नेतात्रयको धारणा नभएको बताउदै आफूलाई प्रधानमन्त्री र पार्टी सभापतिबाट हटाउन ठाडो चुनौतिसमेत दिए ।
१२ औं महाधिवेशनपछिको एउटा कालखण्डमा कोइरालाका मुख्य राजनीतिक सहयोगी पौडेल थिए । हरेक समस्या र कठिनाइमा कोइराला पौडेलको साथ खोज्थे । बार्तामा पौडेल नभई हुन्थेन । तर, दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री को हुने भन्नेबाट कोइराला र पौडेलबीचको सम्बन्ध बिग्रन पुगेको हो । कोइराला प्रधानमन्त्री भएर बालुवाटार सरेपछि पौडेलसँगको भेटघाट पातलो छ ।
संसदीय दलको निर्वाचनमा विनाशर्त सहयोग नगरी आफूलाई अप्ठ्यारोमा पारेको भन्दै कोइराला उनीसंग चिढिएका हुन् । त्यसयता कोइरालाले पौडेलसंग राजनीतिक सल्लाह र सुझाव लिन छाडेका छन् । संविधानसभाको मस्यौदा समितिको सभापति कसलाई बनाउने भन्ने निर्णयसम्म आइपुग्दा कोइराला र पौडेल दुई किनाराका नेताका रूपमा उभिएका छन् ।
पौडेलको पार्टीभित्र दह्रो सांगठनिक पकड छैन । पार्टीमा चालीस प्रतिशत हैसियतमा रहेका शेरबहादुर देउवासँग मिल्ने संभावना पनि देखिन्न । प्रधानमन्त्री भएपछि कोइरालाले आफूप्रति गर्दा आएको व्यवहार र नकारात्मक दृष्टिकोणका कारण पौडेल पार्टीभित्र आफ्नो नेतृत्वमा तेस्रो शक्ति निर्माण गर्नुपर्ने बाध्यतामा पुगेका छन् ।
आफू नेतृत्वको विभागको अगुवाइमा देशव्यापी अभियान सुरु गरेर पौडेलले विस्तारै पार्टीभित्र तेस्रो शक्ति निर्माण गर्ने दौड सुरु गरेका छन् । चैत १६ देखि महाकालीबाट सुरु भएको मेचीकाली अभियानको मुख्य लक्ष्य पनि यही देखिन्छ । जानकारहरुका अनुसार संस्थापन पक्षबाट अवसर नपाएका र भागबण्डाका कारण पछि परेका नेतारकार्यकर्ताहरुको आक्रोशलाई ‘क्यास’ गरेर पौडेल तेस्रो शक्ति बनाउने कोसिसमा जुटेका हुन ।
पौडेलको अभियानलाई संस्थापन पक्षकै असन्तुष्ट नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, मानवहादुर विश्वकर्मा, नविन्द्रराज जोशी, केशव बुढाथोकीलगायतका नेताहरुको साथ र समर्थन छ ।
कांग्रेस नेता केसी पार्टीभित्र संस्थागत निर्णय प्रकृया मिचिदै जाने क्रम बढेको र योग्यता तथा क्षमताका आधारमा भन्दा भागबण्डाका आधारमा अवसर पाउने मापदण्ड निर्धारण हुन थालेपछि पार्टीभित्र तेस्रो शक्तिको खोजी हुन थालेको बताउँछन । पार्टीको १३ औं महाधिवेशनमा पनि कोइरालाले आफूलाई साथ दिनेमा पौडेल सशंकित छन् ।
स्रोतका अनुसार कोइरालाले पार्टी सभापति दोर्याउन सक्ने भएकाले पौडेलले अहिल्यैदेखि आफ्नो शक्ति निर्माणमा जुटेका हुन् । उनी आफ्नै शक्ति निर्माण गरेर अघि बढ्ने भन्दा आफ्नो प्रभाव बढाएर कोइरालालाई दबाव खडा गर्न सकिन्छ भन्ने सोचमा छन् ।
पौडेलको पहिलो प्राथमिकता कोइरालापछि सरकारको नेतृत्व लिने हो । सम्भव नभएमा आगामी १३ औं महाधिवेशनमा सभापति लड्ने हो । त्यसका लागि उनले कोइरालालाई दबावमा पार्ने रणनीति उनले लिएका हुन ।
पौडेलका कतिपय व्यक्तिगत कमजोरी छन । उनलाई साथ दिईरहेका एक सदस्यका अनुसार पौडेलमा सीमित घेरामा बस्न रमाउने, अडानमा अडिग नहुने खालको चरित्र छ । सस्तो लोकप्रियतामा रमाउने गुण छ ।
‘हामीले उहाँलाई तेस्रो शक्तिको नेतृत्वकर्ता बन्न आग्रह गर्दै आएका छौ’ ती नेताले भने, ‘तर अडानमा रहन नसक्ने उहाँको चरित्रले समस्या बनाइरहेको छ, हेरौं महाधिवेशनसम्म कसरी अघि बढ्न सकिन्छ ।’ कान्तिपुर दैनिकबाट











प्रतिक्रिया