
काठमाडौं, २९ चैत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आजबाट सम्पन्न भएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन।
देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए । उनका अनुसार यसवर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी थिए ।
यसवर्षको एसइई परीक्षामा सहभागी हुनका लागि विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने पाँच लाख १६ हजार पाँच सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेर चार लाख ८४ हजार दुई सय २७ पुगेका थिए ।
नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् ।
जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशबाट ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका थिए ।
प्राविधिक धारतर्फ करिब १५ हजार, संस्कृतमा पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ जना र ५० जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
कार्यालयले एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने योजना गरिएको छ ।













प्रतिक्रिया