३० कार्तिक २०८३, सोमबार

विकास र समृद्धि नै मेरो चाहनाः सर्वेन्द्र खनाल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २८ चैत । नेकपा (एमाले)को तर्फबाट तनहुँ-१ प्रतिनिधि सभा सदस्य उपनिर्वाचन उम्मेदवार सर्वेन्द्र खनालले विकास र समृद्धि नै आफनो चाहना भएको बताएका छन् ।

राष्ट्रसेवामा लामो समय योगदान गरेको र अब देश र जनताको चाहना पूरा गर्नका लागि आफूले उपनिर्वाचनमा उम्मेदवार दिएका बताए । प्रहरी संगठनमा रहेर ठूलो ठूलो मिशन पूरा गरेको हुँदा अबको उदेश्य सामाजिक योगदान रहेको र त्यसका लागि जनताबाट अनुमोदन भएर देशको विकास गर्न चाहेको उनले बताए ।

पदमा रहेर धेरै काम गर्न सकिने तर यसअघिका यहाँका जनप्रतिनिधिले जनतालाई धोका दिएको उनले बताए । ‘पदमा रहेर धेरै काम गर्न सकिन्छ । तर यहाँका यसअघिका प्रतिनिधिले काम गरेनन् । जनतालाई धोका दिएका छन् ।’ उम्मेदवार खनालले भने, ‘जसका कारणले जनतामा नेता र राजनीतिप्रति नै आक्रोश पैदा गरेको छ । त्यसलाई चिर्नका लागि नै म राजनीतिमा आएको हुँ ।’

नेपाल प्रहरीको पूर्व महानिरीक्षक (आईजीपी) समेत रहेका खनालले आफूले देशमा भइरहेको भष्ट्राचार र बेथिति बारे नजिकबाट जानकार रहेको बताउँदै त्यसविरुद्ध लड्न आफू प्रतिनिधि चुनिएर काम गर्न तयार रहेको समेत स्पष्ट पारे ।

‘देशमा भष्ट्राचार र बेथिति छ, जसलाई म नजिकबाट जान्दछु ।’ खनालले भने, ‘पदमा रहने तर केही नगर्ने प्रवृतिले जनआक्रोश बढेको हुँदा म त्यसलाई समाधान गरेर जनताको विकास र समृद्धिमा लाग्नेछु ।’ उनले जनताको आशाको किरण एमाले मात्र भएको हुँदा परिवर्तन एमालेको सरकारले मात्र गर्न सक्ने दाबी गरे ।

सरकारी सेवामा रहेर देश र जनताको सुरक्षाका लागि लडेको बताउँदै खनालले देशमा भएको अराजकताको अन्त्यमा आफूले ठूलो योगदान गरेको बताए । देशमा जनयुद्ध, मधेश आन्दोलन, ललिता निवास लगायत विभिन्न विषयमा नेतृत्वकर्ताको भूमिका बहन गरेको उल्लेख गर्दै उनले आफूले शान्ति सुरक्षामा खेलेको भूमिकालाई समेत नजिकबाट नियाल्न आग्रह गरेका छन् ।

प्रहरी सेवामा रहेर लामो समय काम गरिसकेका खनालले जनप्रतिनिधि बनेर समाज रुपान्तरण गर्न सकिने विश्वास लिएका छन् ।