
काठमाडौं, २७ चैत । नेकपा एमालेले करिब दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अब क्रमश: समापनतिर उन्मुख भएको छ ।
गत फागुन ५ गतेदेखि सुरू भएको अभियान बैशाख पहिलो हप्ता समापन गर्ने तयारी छ । कतिपय जिल्लामा अभियान सम्पन्न समेत भइसकका छन् ।
यसैक्रममा आज नवलपुर, रोल्पा, कास्की, हुम्ला, दैलेख र तनहुँका विभिन्न स्थानमा कार्यक्रमहरू भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
नवलपुर
मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिकामा आज नगरपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ ।

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र पालिका कमिटीका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको पनि आतिथ्यता थियो ।
नवलपुर
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा देखिएका समस्या समाधान गरी पार्टी दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनु भएको छ । नवलपुरको कावासोतीमा नगर कमिटीको आयोजनामा भएको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीमा विभिन्न खालका समस्याहरू पैदा भएकाले समस्याको पहिचान गरी पार्टीलाई दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको धारणा राख्नुभयो ।

पार्टीभित्र देखा परेको रोग पहिचान भएपछि उपचारका लागि अर्को अभियान चलाइने उहाँले बताउनुभयो । पार्टीमा कार्वाही गर्नुपर्नेलाई कार्वाही गर्ने, निलम्बन गर्नुपर्नेलाई निलम्बन गर्ने, सचेत गर्नुपर्नेलाई सचेत गराउने, सम्झाई बुझाई गर्नुपर्नेलाई सम्झाई बुझाई गर्ने र पार्टीलाई दुरुस्त राख्न अभियान चलाइएको उपमहासचिव गुरूङले बताउनुभयो ।
पार्टीले लेलिनबादी संगठनात्मक सिद्धान्त अनुसरण गरेकाले यहि आधारमा अघि बढ्नुपर्ने उहाँले धाराणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभएको थियो ।
नवलपुर
यसैगरी, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट देश र जनतालाई जोगाउने अभियान भएको बताउनुभएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत नवलपुरको कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले राष्ट्रियताको सवालमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूले कहिल्यै सम्झौता नगर्ने धारणा राख्नुभयो ।

‘मेरो सन्तानका लागि मेरो देश म बनाउँछु’ भन्ने प्रण हरेक नेता र कार्यकर्ताले गर्नुपर्ने उहाँको धारणा छ । सस्तो लोकप्रियताका लागि समस्याको वकालत गर्नेहरूले व्यबहारिक रूपमा समाधान गर्न नसक्ने उहाँले बताउनुभयो । प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन सके मात्रै संघीयता सफल हुने धारणा राख्नुहुँदै अधिकारीले गठबन्धनका दलबाट देश विकास सम्भव नभएको धारणा राख्नुभयो ।
उहाँले गठबन्धनलाई तोडेर नेपालको पहिलो पार्टी एमाले बन्नु कार्यकर्ताहरूको अथक मिहेनतको परिणाम भएको भन्दै कार्यकर्तालाई धन्यवादसमेत दिनुभयो
रोल्पा
नेकपा (एमाले) रोल्पाले मिसन ग्रासरुट अभियानको मध्यावधि समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष बालाराम बुढामगरको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।
बैठकमा पार्टी पोलिटव्यूरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू जीवन गौतम, हरि रिजाल, जङ्ग नेपाली तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतको उपस्थिति रहेको थियो । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य डा. भट्टराईले नेकपा (एमाले) सिद्धान्त, विचार, संगठन परिचालन, जनताप्रतिको जिम्मेवारी वहनमा उत्कृष्ट पार्टी भएकाले अन्य पार्टीहरूसँग तुलना हुनै नसक्ने विचार व्यक्त गर्नुभयो ।

माओवादीको नेतृत्वले सशस्त्र द्वन्द्वकालीन समयदेखि अहिलेसम्म रोल्पा र रुकुमका जनतालाई झुक्याउने र धोका दिने काममात्र गरेकाले रोल्पाको समृद्धि र विकास माओवादी पार्टी र तिनका नेताहरूबाट सम्भव नरहेको उहाँले धारणा राख्नुभयो ।
रोल्पाको विकास एमालेले गर्ने र त्यसका लागि आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन मतदाताहरूसमक्ष उहाँले आग्रह गर्नुभएको छ । अभियानसँग सम्बन्धित बाँकी सम्पूर्ण कामहरूलाई चैत मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
कास्की
मिसन ग्रासरुट अभियान कास्कीको मादी गाउँपालिकाका १२ वटै वडामा वडास्तरीय बैठक र भेला सम्पन्न भएका छन् । वडास्तरीय बैठक र भेला सम्पन्न भएलगत्तै टोलस्तरमा भेला र प्रशिक्षण शुरु भएका छन् ।

यसैबीच, एमाले केन्द्रीय सल्लाहकार सदस्य पदम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वडा नम्बर १२ को भगवतीटारमा आज कार्यकर्ता भेला सम्पन्न भयो । भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीलाई चुस्त दुरुस्त राख्न मिसन ग्रासरुट अभियान चलाइएको बताउनुभयो ।
यस्तै, एमाले कास्कीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङले एमालेको आधार स्तम्भ गाउँ, वस्ती र टोल भएको हुँदा ग्रासरुट अभियान चलाइएको धारणा राख्नुभयो । उहाँले पार्टीका सदस्य विचारमा स्पष्ट, जनताको असल साथी र मेहनती हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य पुण्य पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
हुम्ला
नेकपा (एमाले) द्वारा सञ्चालित पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटअन्तर्गत हुम्लामा समिक्षा बैठकसहित अभियानको समापन गरिएको छ । बैठकले सातवटै पालिकाको प्रतिवेदनहरूमाथि छलफल गरी समग्र जिल्लाको प्रतिवेदन तयार पारेको छ ।

बैठकले अभियान अत्यन्तै उत्साहपूर्ण रूपमा सम्पन्न भएको, हजाराँै हुम्ली जनताकाबीचमा पार्टीका विचारहरू पुर्याउन सफल भएको, हुम्लाको आर्थिक, सामाजिक, राजनीतिक मुद्दाहरू उजागर गरेको निष्कर्ष निकालेको छ । यस्तै, सात वटा पालिका, ४४ मध्य ४३ वटा वडा र ५५ वटा टोलमा पार्टी संगठन विस्तार गर्ने तथा पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण जस्ता महत्वपूर्ण उपलब्धिहरू भएका छन् ।
अभियानकै दौरानमा जेष्ट कम्युनिष्ट मन्चका सदस्यहरूलाई सम्मान र विभिन्न अन्तकृया कार्यक्रमहरू भएका छन् । अभियानमा खटिनुभएका र अभियानलाई सहयोग गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरूलाई बैठकले धन्यवाद पनि दिएको छ । कार्यक्रममा अभियानको नेतृत्व गर्नु भएका केन्द्रीय कमिटी सदस्य निरज आचार्य, डम्बरबहादुर सिह र केन्द्रीय प्रतिनिधि लंकबहादुर शाही लगायतलाई जिल्ला कमिटी हुम्लाले बिदाई गरिएको थियो ।
दैलेख
मिसन ग्रासरूट अभियानअन्तर्गत दैलेखको नारायण नगरपालिकामा नगरकमिटीको समिक्षा बैठक सम्पन्न भएको छ । बैठकमा अभियानका लागि खटिनुभएका प्रतिनिधिहरूले कार्यप्रगतिको रिर्पोटिङ गर्नुभएको थियो । बैठकमा ११ वटा वडाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

बैठकले पदाधिकारी तथा सचिवालयको निर्णयको अनुमोदनसमेत गरेको छ । अभियानअन्तर्गत कमिटी निर्माण, सदस्यता नवीकरण तथा नयाँ सदस्यता सिफारिस उल्लेख्य संख्यामा भएको बैठकले निष्कर्ष निकालेको छ ।
तनहुँ
तनहुँ निर्वाचन क्षेत्र नं. १ का लागि नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले चुनावी प्रचार–प्रसारलाई तीव्र पार्नुभएको छ । यसै क्रममा आज उहाँ भानु नगरपालिका वडा नं. ६ स्थित चन्द्रावती पुग्नुभएको छ । चुनावी अभियानकै क्रममा सोमबार देवघाट जाने तयारीमा रहनुभएका खनाल चन्द्रवतीका मतदाताको आग्रह र अनुरोधमा आफ्नो जन्मस्थानसमेत रहेको ६ नम्बर वडामा पुग्नुभएको हो । भानु–६ सिम्पानी खनालको जन्मस्थान हो ।

खनाल आउने भएपछि चन्द्रावतीका बासिन्दा एक घन्टाअघिदेखि नै प्रतिक्षामा बस्नुभएको थियो । खनाल पुग्ने वित्तिकै स्थानीयले स्वागत गर्दै उहाँको जित सुनिश्चित रहेको जनाउ दिनुभएको थियो । खनालले पनि आफू जहाँ जन्मिएको हो सोही क्षेत्रको जनप्रतिनिधिको उम्मेदवार बनेर आउन पाउँदा खुसी लागेको र तनहुँ–१ का मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
आफू यसअघि प्रहरी सेवामा रहेका कारण बारम्बार जन्मस्थान आउन नपाए पनि विभिन्न कामको शिलशिलामा पटक–पटक आएको उहाँले बताउनुभयो ।
















प्रतिक्रिया