
काठमाडौं, २७ चैत । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव समाधानका लागि तत्काल संवाद गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले बागदरबार र सिंहदरबारबीचको टकराव समाधानका लागि विलम्ब नगरी छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।
‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । विलम्ब नगरी महानगरसँग छलफल गरियोस्, संवाद गरियोस् जुन जुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जायज मागहरू पूरा गरियोस्,’ थापाले भने ।
महानगरपालिकाले उठाएका जायज मागहरू पूरा गरेर यो समस्या दीर्घकालिन रूपमा समाधान गर्नुपर्ने थापाले बताए ।
महानगरले उठाएका कतिमय मागहरू सरकारले सम्बोधन नगरेको बताउँदै थापाले संघको सरकारले बनाउनुपर्ने कामहरू गर्नुपर्ने, दिनुपर्ने स्रोत दिनुपर्ने बताए । उनले विलम्व नगरी प्रधानमन्त्रीले नै पहल लिएर समस्या समाधानका लागि महानगरसँग संवाद गर्न आग्रह गरे ।















प्रतिक्रिया