
चितवन, २७ चैत । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्नैन भन्दै प्रश्न गरेका छन् ।
सोमबार बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भनेर सार्वजनिक रुपमा भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका हुन् ।
‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्न मिल्छ कि मिल्दैन ? तपाईंहरूलाई के लाग्छ ?,’ मन्त्री श्रेष्ठले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’
मन्त्री श्रेष्ठले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)लाई समन्वयन गर्नको लागि आग्रह गरेका छन् । उनले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिबद्ध रहेको समेत बताएका छन् ।
केहिदिन अघि काठमाडौंका मेयर शाहले समाजिक सञ्जाल फेसबुकमा लेख्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । आजै बिहान पनि फेसबुकमा लेख्दै मेयर शाहले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन् ।
बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय गरेको मेयर शाहले उल्लेख गरेका छन् ।
मेयर शाहले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोप लगाउँदै आएका छन् ।












प्रतिक्रिया