
काठमाडौं, २४ चैत । नेकपा एमालेले करिब दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत पछिल्ला कार्यक्रमहरू समीक्षा, अनुगमन र निष्कर्ष निकाल्ने काममा केन्द्रित हुन थालेका छन् ।
धेरैजसो पालिका र वडाहरूले सम्पन्न गरिसकेका कार्यक्रमहरूबारे समीक्षा र अनुगमनका साथै निष्कर्ष निकाल्न थालिएको हो । यससँगै अब जिल्ला र प्रदेश हुँदै एकीकृत प्रतिवेदन तयार पार्ने काम समेत सुरू भइसकेको छ ।
अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका नेताहरूका साथै अभियानमा अझै उत्साह थप्न शीर्ष नेताहरू समेत जिल्ला–जिल्लामा पुगिरहेका छन् ।
यससँगै बारा निर्वाचन क्षेत्र नं. २, तनुहँ–१ र चितवन–२ मा सञ्चालन भइरहेको अभियान चुनावी प्रचारमा रुपान्तरण भएका छन् । उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा एमालेको जित सुनिश्चित रहेको नेताहरूले बताएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
काठमाडौं
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘गोसाईकुण्ड सम्पदा सर्किट’ नामक पुस्तकको विमोचन गर्नुभएको छ । काठमाडौंको उत्तरी क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक नगरी टोखाका अगुवा मनिराज डंगोलद्धारा लिखित कृति एमालेको जारी पार्टी सदृढीकरण तथा विस्तार अभियान मिसनग्रासरुटमा सहभागी हुँदै गर्दा तयार पारिएको पुस्तक हो ।

‘मिसनग्रासरुटमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लागि स्रोत तथा सम्पदा, ७५३ पालीकामै जोडिने पदमार्ग निर्माण गरौं’ भन्ने नाराका साथ गोसाईकुण्ड सम्पदा सर्कीटबारे पुस्तकमा जानकारी दिइएको छ । कृतिको विमोचन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गोसाईकुण्ड क्षेत्र प्राचीनकाल देखि नै प्राकृतिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको केन्द्र रहँदै आएको बताउँनुहुँदै पर्यटकीय सम्भावनाका द्धार खोलेर राष्ट्रलाई नै समृद्धिको बाटोमा लैजान कृतिले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरेलले पार्टीद्धारा सञ्चालित मिसनग्रासरुट अभियानकै बिचमा यसप्रकारको सिर्जनशिलकार्य गरेकामा डंगोलको प्रशंसा गरे । कृतिमा टोखा–गोसाईकुण्ड सङ्गमस्थलदेखि यस क्षेत्रका सम्पदाको बारेमा जानकारी दिइएको छ ।
स्याङ्जा
मिसन ग्रासरुट अभियानअन्तर्गत स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर–३ वाडखोला र वडा नम्बर–७ ठुलाडिहीमा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिटब्युरो सदस्य एवम् अभियानका लागि केन्द्रिय प्रतिनिधिसमेत रहनुभएका लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यता र वडा नं ३ का अध्यक्ष तेज प्रसाद शर्मा र वडा नम्बर ७ मा भएको कार्यक्रममा हुम बहादुर आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पोलिट्ब्यूरो सदस्य मगरले कम्युनिष्ट आन्दोलनमा लामो समय पार्टी प्रमुख रहनुभएका माधव, झलनाथ, सीपी र केशरजंगहरूले विजारोपण गरेको फुटको बाटो दक्षिणपन्थी अवसरवाद भएको चर्चा गर्दै एमालेभित्र यो प्रवृत्ति स्विकार्य नहुने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश कमिटी उप सचिव रश्मि आचार्यले पार्टी सदस्यता नवीकरण चैत मसान्तभित्र सक्न र नयाँ सदस्यतामा पनि जोड दिन आग्रह गर्नुभयो ।
बागलुङ
बाग्लुङको काठेखोला गाउँपालिकास्तरीय समिक्षा बैंकक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य जगत विश्वकर्माको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटी अध्यक्ष दिलबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पोलिट्ब्यूरो सदस्य विक, नेताद्वय इन्द्रलाल सापकोटा र हिरा बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, ८ वटै वडा कमिटीका अध्यक्षहरूले अभियानको आजसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २४ र ११ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तर्कृयात्मक रूपमा सम्पन्न भएको कार्यक्रमलाई अभियान सम्बन्धमा पार्टीका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
हुम्ला
मिसन ग्रासरुट अभियानअन्तर्गत हुम्लाको सिमकोटमा शिक्षक, बुद्धिजीवी, कर्माचारी, उद्योग ब्यवसायीसंग अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय कमिटी सदस्य निरज आचार्यको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष कलबहादुर हमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका केन्द्रीय प्रतिनिधि लंकबहादुर शाही, जिल्ला उपाध्यक्ष डवल रावत, उपसचिव चन्द्र ढकाल लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
कास्की
मिसन ग्रासरुट अभियानअन्तर्गत पोखरा महानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा विषयगत प्रशिक्षण सम्पन्न भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्य प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष लक्षमण कोइरालाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ।
कार्यक्रममा उपसचिव आचार्यले ’जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण’ विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा उहाँले आजको सन्दर्भमा जबज एमालेको मात्र नभई नेपालका सबै जसो वामपन्थीहरूको केन्द्रीय विचार भएको चर्चा गर्दै समाजवाद स्थापनाको लागि कम्युनिष्ट आन्दोलनको मूल धार नेकपा एमाले सुदृढ बन्न आवश्यक रहेको धारणा राख्नुभयो ।
गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले ‘संगठन निर्माण, परिचालन र संगठनात्मक प्रणाली’ विषयमा प्रशिक्षण दिनुभयो ।
सुर्खेत
सुर्खेतको चौकुने गाउँपालिका कमिटीको सचिवालय बैठकले मिसन ग्रासरूट अभियानको समीक्षा गरेको छ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष तथा मिसन ग्रासरूट अभियानका लागि केन्द्रीय प्रतिनिधिसमेत रहनुभएका विनोदकुमार शाहको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा समिक्षा बैठक बसेको हो ।

बैठकमा गाउँपालिकाभित्र रहेका १० वटा वडाका एमाले वडा कमिटी अध्यक्षले समीक्षा बैठकमा प्रगति विवरण पेस गर्नुभएको थियो । बैठकमा बोल्दै कर्णाली अध्यक्ष शाहले प्रत्येक वडा कमिटी अध्यक्ष, वडा इन्चार्ज, मिसन ग्रासरूटका नगर, जिल्ला तथा प्रदेश प्रतिनिधिहरूलाई खटिएको आ–आफ्नो क्षेत्रको प्रगति विवरण माग्नुभएको थियो ।
प्रतिनिधिहरूले पेश गर्नुभएको प्रगति विवरणप्रति सन्तुष्ट रहँदै अध्यक्ष शाहले बाँकी रहेका सदस्यता नवीकरणलाई तत्काल पूरा गर्न, जनवर्गीय संगठनहरूको गठन पुनर्गठन यथाशीघ्र गर्न वडा कमिटी अध्यक्षहरूलाई निर्देशन दिनुभयो । यस्तै, चौकुने गाउँपालिका–४मा भुडेभावर गाउँकमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा पनि अध्यक्ष शाहले परिक्षण दिनुभएको थियो ।
सिन्धुपाल्चोक
मिसन ग्रासरुट अभियानमा जिल्लाका चौध हजार बढी नेता कार्यकर्ता परिचालित भएका छन् । संगठन सुदृढीकरण, शुद्धिकरण र विस्तारको योजनाअनुरूप सुरू भएको अभियानकामा जिल्लाभरका सात सय टोलसम्ममा संगठनात्मक संरचना निर्माण तथा सक्रियता गराईएको जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।

टोल, वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्र र जनसंगठनसमेत अभियानमा सक्रियताका साथ लागिरहेको नेपालको भनाई छ । ले बताए । माथिल्लो कमिटीका ६० प्रतिशत र तल्लो तहको सतप्रतिशत नेता कार्यकर्ता मिसन ग्रासरुटमा जोडिएर जिम्मेवारी पूरा गरिरहनुभएको उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकामा सुरू भएको र अन्य स्थानीय तहमा अभियान समापनको तयारीमा पुगेको नेकपा एमाले सिन्धुपाल्चोकले जनाएको छ । वडा तहसम्मका सबै संगठनको संरचनाको बैठक, भेला, योजना निर्माण संचालन भएको नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले जानकारी दिनुभयो । मिश्रकाअनुसार हरेक वडामा कम्तीमा एक सय पचास जना पार्टी सदस्य अभियानमा जोडिनुभएको छ ।
फागुन ८ देखि सिन्धुपाल्चोकमा सुरू भएको मिसन ग्रासरुटको हेलम्बु गाउँपालिकाबाट सुरूवात गरी हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकामा तोकिएका कार्यक्रमहरू सम्पन्न उन्मुख रहेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिनुभयो ।















प्रतिक्रिया