३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट अभियान : अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न व्यापारी–व्यवसायीसँग छलफल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा एमालेले करिब डेढ महिनायता सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानअन्तर्गत पछिल्ला कार्यक्रमहरू समीक्षा र अनुगमनका साथै मुलुकको प्रमुख समस्या आर्थिक सङ्कटका बारेमा पनि केन्द्रित हुन थालेका छन् ।

धेरैजसो पालिका र वडाहरूले सम्पन्न गरिसकेका कार्यक्रमहरूबारे समीक्षा र अनुगमनका साथै आर्थिक समस्याबारे उद्योगी, व्यवसायी र व्यापारीहरूसँग लागि छलफल थालिएको छ ।

समस्या सृजना हुनाका कारण र समाधानका उपाहरूबारे छलफल गरिएको एमालेले जनाएको छ ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

बागलुङ

मिसन ग्रासरुट अभियानअन्तर्गत बागलुङका व्यवसायीहरूको समस्या र आर्थिक सङ्कटलगायत विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष हिरा केसीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सचिव अर्यालले व्यवसायीको समस्याका विषयमा एमाले जानकार रहेको बताउँदै दश दलीय गठबन्धन सरकारले देशको अर्थतन्त्र सङ्कटमा पारेको बताउनुभयो । अर्थतन्त्र सङ्कटमा पर्दा व्यवसायीहरूमा चरम निराशा छाएको भन्दै उनले व्यवसायीको हकहितका लागि नेकपा एमाले सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य जगत विश्वकर्माले एमाले व्यवसायीको पक्षमा सदैव उभिने पार्टी रहेको बताउँदै वर्तमान सरकारले सत्ता स्वार्थका कारण व्यवसायीहरूको दमन गरिरहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सदस्यमा निर्वाचित दयाराम पौडेललाई सम्मान गरिएको थियो ।

रोल्पा

नेकपा एमाले रोल्पाले मिसन ग्रासरुट अभियानको मध्यावधि समीक्षा बैठक सम्पन्न गरेको छ । पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यता र जिल्ला कमिटी अध्यक्ष बालाराम बुढामगरको अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो । बैठकमा पार्टी पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू जीवन गौतम, हरि रिजाल, जङ्ग नेपाली तथा प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतको आतिथ्यता थियो ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य डा. भट्टराईले नेकपा एमाले सिद्धान्त, विचार, संगठन परिचालन, जनताप्रतिको जिम्मेवारी वहनमा उत्कृष्ट पार्टी भएकाले अन्य पार्टीहरूसँग तुलना हुनै नसक्ने विचार व्यक्त गर्नु भयो । माओवादीको नेतृत्वले सशस्त्र द्वन्द्वकालीन समयदेखि अहिलेसम्म रोल्पा र रुकुमका जनतालाई झुक्याउने र धोका दिने काममात्र गरेकाले रोल्पाको समृद्धि र विकास माओवादी पार्टी र तिनका नेताहरूबाट सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

रोल्पाको विकास एमालेले गर्ने र त्यसका लागि निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन मतदाताहरूसमक्ष उहाँले आग्रह गर्नुभएको छ । अभियानसँग सम्बन्धित बाँकी सम्पूर्ण कामहरूलाई चैत मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

रामेछाप

मिसन ग्रासरुट अभियानअन्तर्गत रामेछापको मन्थली नगरपालिका–१३ फुलासी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र निरु दर्लामी कुँवरको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भेलाले बाबुराम पुलामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य रत्न गौतम, कमल कडरिया, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की, होतराज ढकाल, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे र उपसचिव नवराज थापामगरलगायत नेताहरूको आतिथ्यता थियो ।

यसैगरी, जिल्लाको खाँडादेवी गाउँपालिका–३ भीरपानीमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पार्टी केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य कृष्णहरि अधिकारी, ज्ञानकुमार श्रेष्ठ, गाउँपालिका कमिटी अध्यक्ष पुष्कर कार्कीलगायतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कास्की

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत कास्कीको पोखरा नगरपालिका र नेपाल उद्योग तथा व्यवसायी महासंघको संयुक्त बैठक पोखरामा सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य एवम् मिसन ग्रासरुटका लागि पोखरा महानगरका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले उद्योग–व्यवसाय र समग्र आर्थिक क्षेत्रमा देखिएको समस्याका बारेमा छलफल गर्नाका साथै समाधानका उपायहरू खोज्ने प्रयास गरेको बताइएको छ । साथै मिसन ग्रासरुट तथा व्यावसायिक क्षेत्रबाट विषयगत रूपमा सम्पन्न गर्नुपर्ने बाँकी कार्यक्रमहरू वैशाखभित्र सम्पन्न गरिसक्ने निर्णय बैठकले गरेको छ । बैठकलाई प्रशिक्षणात्मक रूपबाट सञ्चालन गरिएको थियो ।

जुम्ला

नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा एमालेको स्थापना र विस्तारमा महत्वपूर्ण योगदान दिने ३६ जनालाई सम्मान गरिएको छ । केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले उहॉहरूलाई पार्टीका तर्फबाट सम्मानपत्र प्रदान गर्नुभयो ।

उहाँहरूलाई केन्द्रीय कमिटी सदस्य नगेन्द्र शाही (नेशनल), जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत, चन्दननाथ नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाय र तातोपानी गाउँ कमिटी अध्यक्ष पूर्ण पाण्डेले खादा ओढाएर सम्मान गर्नुभयो । सम्मानितमध्ये तीन जनालाई मरणोपरान्त सम्मान गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिकामा मिसन ग्रासरुट अभियानअन्तर्गत भएका विभिन्न कार्यक्रमहरूको समीक्षा गरिएको छ । पार्टी केन्द्रीय सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यतामा आयोजित पालिकास्तरीय कार्यक्रममा अभियानबारे समीक्षा गरिएको हो ।

यसअघि बुलिङटारले पालिका, वडा र टोलस्तरमा समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रमहरूको समीक्षापछि प्रतिवेदन तयार गरिने गाउँपालिकाले जनाएको छ ।

ताप्लेजुङ

ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पार्टी केन्द्रीय सदस्य खगेन्द्र राईको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष विक्रम मेन्याङ्बोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मिसन ग्रासरुट अभियानअन्तर्गत भएको कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य बलबहादुर साम्सोहाङ, जिल्ला कमिटी सचिव केशर कुमार सुब्बा, जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, जिल्ला कमिटी सदस्य रनमाया गुरूङलगायत नेताहरूको आतिथ्यता थियो ।

सुर्खेत

मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले पञ्चपुरी नगरपालिका नगर कमिटीको चौथो बैठक सम्मपन्न भएको छ । कर्णाली प्रदेश अध्यक्ष तथा मिसन ग्रासरूट अभियानका केन्द्रीय प्रतिनिधि विनोदकुमार शाहको प्रमुख आतिथ्यता र नगर कमिटी अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा एमालेले थालेको दुई महिने अभियान पार्टी शुद्धीकरण, सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन भएदेखि हालसम्म गरिएका गतिविधिका बारेमा समीक्षा गरिएको छ । यस्तै, पालिकाका ११ वटै वडामा नगरपालिका, जिल्ला तथा प्रदेशबाट खटिनुभएका मिसन ग्रासरूटका प्रतिनिधिहरूले मिसन ग्रासरूटसम्बन्धी भएका प्रगतिको विवरण प्रस्तुत गर्नुभयो ।

बैठकमा कर्णाली प्रदेश कमिटी सदस्य इन्द्रबहादुर केसी, जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्यहरू तथा पार्टीका जनवर्गीय संगठनका पदाधिकारीहरूको सहभागिता थियो ।