३० आश्विन २०८३, शुक्रबार

सरकारको न्यूनतम साझा कार्यक्रममा चित्रबहादुरको हस्ताक्षर दुरूपयोग गरिएपछि…

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । सरकारले हिजो बिहीबार जारी गरेको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर दुरूपयोग गरेको पाइएको छ ।

साझा कार्यक्रममा गठबन्धन दलमा समावेश दश वटै दलका प्रमुखहरूको हस्ताक्षर गरेका छन् । तर, जनमोर्चाका अध्यक्ष केसीको हस्ताक्षर भने अनुमतिबिना नै प्रयोग गरिएको सो पार्टीले स्पष्ट पारेको छ ।

सरकारद्वारा जारी कार्यक्रममा आफूहरूको असहमति रहेको जनाउँदै अध्यक्ष केसीले आफ्नो हस्ताक्षर दुरूपयोग भएको बताएका छन् । ‘०७९ चैत्र २३ गते दश दलका प्रमुखहरूको हस्ताक्षर भइ जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर रहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाले भनेको छ, ‘विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ । पाँच दलीय सरकारद्वारा जारी गरिएको न्युनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ । अहिले पनि हाम्रो त्यो नीति कायम नै छ ।’

प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजिटल हस्ताक्षर कता राखिएको भन्ने सन्दर्भमा प्रधानमन्त्री र अध्यक्ष चित्रबहादुर केसीबीच सम्वाद भएको सत्य भएको बताउँदै जनमोर्चाले विज्ञप्तिमा भनेको छ, ‘तर, त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन । त्यसैले अध्यक्ष का. चित्रबहादुर केसीको हस्ताक्षर भ्रमवस नै न्यूनतम साझा कार्यक्रममा परेको कुरा सम्बद्ध सबैलाई जानकारी गराउँदछु ।’

दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकता लगायतका विषयमा हाम्रो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरू रहेको जनमोर्चाले जनाएको छ । ‘संघीयता, मानव अधिकारको गम्भीर उल्लंघनकर्ताहरूलाई सजायको दायरामा ल्याउन संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने, नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध हामीले लगातार लामो समयदेखि संघर्ष गर्दै आएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।