३० आश्विन २०८३, शुक्रबार

ज्योतिषलाई नै थाहा छैन् आफ्नो भविष्य, यसरी परे प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ojhraj-lohani

– विश्वास खड्काथोकी

काठमाडौँ, ८ जेठ । अरुको भविष्यबाणी गर्ने ज्योतिषलाई आफ्नै भविष्यको थाहा छैन् भन्ने खबर पढ्दा तपाईंलाई आश्चर्य लाग्न सक्ला । हो, यस्तै देखियो यसपटकको महाभूकम्पछि । ग्रहलाई आधार मानेर ठूलो भूकम्प आउँछ भन्दै भविष्यबाणी गर्ने ज्योतिषहरु एकछिन पछि आफ्नै जीवनमा के हुन्छ भन्ने भविष्यवाणी गर्न नसक्दा प्रहरी फन्दामा पर्नुपर्‍यो । अर्थात यसपटकको भूकम्प उनीहरुका लागि शनि ग्रह नै बनेर उभियो ।

भूकम्पका विषयमा अनेक भविष्यवाणी गर्ने ज्योतिषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘अब ठूलो भूकम्प आउने योग छ’ भन्दै एक टेलिभिजनमा अन्तरवार्ता दिए लगत्तै ज्योतिष ओजराज लोहनीलाई प्रहरीले नियन्त्रणमा लियो । भूकम्पको कारण त्रसित बनेका नेपालीमा उनको अन्तरवार्ताले झन् ठूलो भय सृजना गर्‍यो । जसको कारण महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई गत मंगलबार पक्राउ गर्‍यो, अनि कारवाहीको चेतावनी दियो । त्यहाँ पुगेपछि भने उनले माफी मागे । भने, ‘हामीले भन्न नपर्ने कुरा भनेछौँ, हामीबाट गल्ती भयो ।’ उनी प्रहरी कार्यालयमा ४ घण्टा विताएर तारेखमा रिहा भए ।

लोहनीजस्तै अन्य ज्योतिषले पनि प्रहरी कार्यालय धाउनुपर्‍यो । यसलाई अतिरञ्जित नबनाइयोस्, केवल पूर्वसूचनामात्र हो । बैशाख २९ र ३० गते भूकम्प आउँछ भन्ने भविष्यवाणी गर्दै ट्वीट गरेपछि ज्योतिष तथा वास्तुशास्त्री डा. सुनिल सिटौलालाई पनि प्रहरीले सतायो ।संयोग नै मान्नुपर्छ, उनले ट्वीट जस्तै बैशाख २९ गते ६.८ रेक्टरको ठूलै भूकम्प पनि आयो । तर उनको ट्वीटरले जनमानसमा ठूलै खैलाबैला ल्याइदियो ।

हनुमानढोका प्रहरीले डा.सिटौलालाई कार्यालयमा ल्यायो र ट्वीट मेटाउन लगायो । त्यतिमात्रै होइन्, भूकम्प सम्बन्धी कुनै पनि भविष्यवाणी नगर्न कागज नै गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

भूकम्पसम्बन्धी अनावश्यक भविष्यवाणी गर्ने यी र यस्तै अन्य ज्योतिषहरु अहिले पनि निगरानीमा रहेको महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख, एसएपपी पुस्कर कार्कीले बताए । उनले भने, ‘हाम्रो समाजले यस्तो कुरालाई अलि बढी विश्वास गर्छ, उनीहरुको कुराले आतंक सृजना गरेकाले हामीले नियन्त्रणमा लिएर काउन्सेलिङ गरेका हौँ ।’

ज्योतिष मात्र नभई सञ्चारगृहलाई समेत सम्झाउनु परेको एसएसपी कार्कीले बताए । उनका अनुसार, भूकम्पपछि जनमानसमा त्रास तथा भ्रम नफैलाउन प्रहरी चनाखो भएर लागेको थियो ।