
काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ रिट दर्ता गरेका हुन् ।
लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमबार रिट दिएका थिए ।
यसअघि सर्वोच्च अदालतले लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको भन्दै उनको सांसद खारेज गरेको थियो । सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पूरा गरी लामिछानेले अहिले नेपाली नागरिकता भने लिइसकेका छन् ।
तर लामिछानेको राहदानी दुरुपयोग मुद्दा रहँदा महान्यायाधिवक्ता कार्यालयले राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेपछि उक्त निर्णय बदर गर्नुपर्ने र अनुसन्धान हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको हो ।












प्रतिक्रिया