
काठमाडौं, २० चैत । आगामी वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नं. १ बारा–२ र चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले आज तीन वटै निर्वाचन क्षेत्रमा सशक्त ढंगबाट उम्मेदवारी दर्ता गराएको छ ।
पार्टीको निर्णय अनुसार तनहुँ–१ मा सर्वेन्द्र खनाल, बारा–२ मा पुरुषोत्तम पौडेल र चितवन–२ मा रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
तनहुँ–१ का उम्मेदवार सर्वेन्द्र खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् । खनालले पार्टी सचिव पद्माकुमारी अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा खनालले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै बारा–२ का पुरुषोत्तम पौडेलको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहेका छन् । पौडेलले पार्टी सचिव रघुवीर महासेठलगायत नेता तथा कार्यकर्ताको भव्य उपस्थितिमा पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी चितन–२ का रामप्रसाद न्यौपानेको प्रस्तावकमा विजय सुवेदी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । न्यौपानेले पार्टी पोलिटव्युरो सदस्य गोकुल बास्कोटालगायत नेता तथा कार्यकर्ताहरूको विशाल सहभागितामा न्यौपानेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभाको तीन सीटका लागि एमालेसहित बारा निर्वाचन क्षेत्र नं. २ मा ३६ जना, चितवन निर्वाचन क्षेत्र नं. २ मा २४ जना र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ९ जना गरी ६९ जनाको उम्मेदवारी परेको छ ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त भएको हो ।
यस्तै बारा–२ मा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र पनि रिक्त भएको हो ।
यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । उनलाई नागरिकता कीर्ते गरेको अभियोग लागेपछि पद खारेज हुँदा उनको निर्वाचन क्षेत्र रिक्त भएको थियो ।
रिक्त रहेका यी तीन वटै निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा पनि विभिन्न खालको सहकार्य र गठबन्धन्धविरुद्ध एमाले एक्लै मैदानमा उत्रिएको छ ।















प्रतिक्रिया