
काठमाडौं, २० चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाको रिक्त तीन सीटका लागि ६९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिन निर्धारण गरिएको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा ६९ जनाले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन आयोगका अनुसार बारा निर्वाचन क्षेत्र नं. २ मा ३६ जना, चितवन निर्वाचन क्षेत्र नं. २ मा २४ जना र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ९ जनाले उम्मेदवारी दिएका छन् ।
मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
यस्तै बारा–२ मा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । उनी अहिले उपराष्ट्रपति निर्वाचित भइसकेका छन् । यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । उनलाई नागरिकता कीर्ते गरेको अभियोग लागेपछि पद खारेज भएको थियो ।
यी तीन निर्वाचन क्षेत्रको रिक्त सीटका लागि वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।















प्रतिक्रिया