
काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने बिहान १० बजे चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–१ मा मनोनयनपत्र दर्ताका लागि पुग्नेछन् ।
सामाजिक सञ्जालमा लेख्दै बोहोराले बिहान ९ बजे भरतपुर महानगर ११ विशाल चोक भेला भएर ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामिछानेले बिहान १० बजे मनोनयन दर्ता गर्ने जनाएका छन् । त्यसपछि दिउँसो २ बजे सभापति लामिछाने तनहुँको दमौली पुगेर वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने बोहोराले जनाएका छन् ।
बाहोराका अनुसार बारा–२ मा रमेश खरेलको मनोनयन दर्ता गर्न पार्टी उपसभापति डोलप्रसाद अर्याल पुग्नेछन् ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि आज तनहुँ–१, बारा–२ र चितवन–२ मा उम्मेदवारी दर्ता हुँदैछ ।
उपनिर्वाचनको लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।












प्रतिक्रिया