
काठमाडौं, १९ चैत । सिटिजन्स बैंक इन्टरनेशनलले एकैसाथ चार वटा प्रदेशमा केआईओएसके अर्थात ‘कियोस्क’ तथा एटीएम सेवा विस्तार गरेको छ ।
हिजो शनिबार एक समारोहका बीच उक्त सेवाको शुभारम्भ गरिएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकाको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगञ्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा यो सेवा विस्तार गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैंकले कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा एकसाथ पाँच वटा शाखामा एटीएम सेवाको समेत विस्तार गरेको छ ।
साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत विस्तार गरिने योजना रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कियोस्क सेवामार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिनानै प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३८ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया