
काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
आज शनिबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रमा नेपाललाई विश्वकै हव बनाउन सकिने भएकाले सरकारले यस क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।
उनले खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरुमा आफुले सदैव सहभागीता जनाउने धारणा व्यक्त गरे । प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाएर तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिने उनको भनाइ छ ।
पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा सफलता हासिल गरेको भन्दै उनले खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐनलगायत ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जाने पनि बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगाएतले खेल क्षेत्रको पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।















प्रतिक्रिया