
काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजीमाथि आवश्यक कारबाही अघि बढाइने प्रतिवद्धता जनाएका छन् ।
बर्दिबासदेखि पैदलै काठमाडौं आएका मिटरब्याज पीडितहरुसँग आज शनिबार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरुपमा हल गर्न सरकारले काम अघि बढाएको र मिटरब्याजीमाथि आवश्यक कारबाही अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । यसको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उनले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
पीडितहरूका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको उनले बताए । मीटरब्याज पीडितहरुको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरूमाथि कारबाहीका लागि पहल गरेको बताए ।
अहिले पनि यो समस्या पूर्णरुपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उनको भनाइ छ ।
प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पूर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका छन् । त्यस्तै उनीहरुले मिटरब्याजीहरुले आफूहरूलाई पटक–पटक धम्की दिएको र असुरक्षित महसुस गरेको गुनासो गरेका थिए ।
मिटरब्याज पीडितहरु आफ्ना गुनासो राज्यलाई सुनाउन बर्दिबासदेखि काठमाडौं पैदलै आएका थिए । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरुबाट लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर माइतीघरमा धर्ना दिदै आएका छन् ।
हेर्नुहोस् रुवबासीसहितको भिडिओ–















प्रतिक्रिया