
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले अर्थशास्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेको पार्टी बर्हिगमन कांग्रेसका लागि ठूलो नोक्सानी भएको बताएका छन् ।
कांग्रेस छोड्ने वाग्लेको घोषणाप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले एक सच्चा बौद्धि व्यक्तिले पाटी परित्याग गर्नुपर्नेसम्मको अवस्थाले आफूलाई गम्भीर तुल्याएको उल्लेख गरेका छन् ।
‘यो नेपाली कांग्रेसका लागि साँच्चै दु:खद खबर र ठूलो नोक्सानी हो,’ उनले लेखेका छन्, ‘यदि सम्भव भएमा हामी सँगै काम गर्नेछौँ र तपाइँले गर्नुभएको पछिल्लो निर्णय पुनर्विचार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
कांग्रेसलाई वाग्लेजस्ता बौद्धिक व्यक्तिको खाँचो औंल्याउँदै नेता केसीले आफ्नो निर्णयबाट वाग्ले फिर्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।
पार्टी र नेतृत्वको शैलीले कांग्रेसभित्र बसेर शीर उच्च बनाउन नसकिने निष्कर्ष निकाल्दै वाग्लेले आज कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् । उनले कांग्रेस व्यक्ति र परिवारवादमा लिप्त हुँदै जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको आदर्शलाई भलेको आरोप लगाएका छन् । अहिले कांग्रेस आफ्नो ऐतिहासिक पृष्ठभूमी बिर्सिएर दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत भएको उनको आरोप छ ।
‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।















प्रतिक्रिया