काठमाडौं, १९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका उदयीमान युवा स्ट्राइकर विमल घर्ती मगर यसबर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस अवार्डको ‘युथ प्लेयर अफ दी इयर’ विमलले पाएका हुन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा विमललाई उत्कृष्ट घोषित गरियो । फुटबलर विमल साफको कान्छो गोलकर्ता हुन् । काठमाडौंमा भएको आठौं साफ च्याम्पियन्सीपमा पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै उनले बराबरीको नतिजा दिलाएका थिए । उनले साफ यु–१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्याउँदा भुटानविरुद्ध ह्याट्रिक गरे ।
यसैगरी, नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायिके कोच अफ दी इयर घोषित भएका छन् । ‘टिम अफ दी इयर’ को उपाधि भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको छ ।
यता, यो बर्षको स्पेशल अवार्ड क्रिकेटर शरद भेष्वाकरलाई प्रदान गरिएको छ ।
यस्तै, धावक बैकुण्ठ मानन्धरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । ‘पारा एथलेटिक अफ दी इयर’ तेक्वान्दो खेलाडी यादव कुँवर घोषित भए ।












प्रतिक्रिया