
काठमाडौं, १६ चैत । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) ले २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व : सेतो मछिन्द्रनाथ रथ जात्रा’ विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ ।
आज बिहीबारदेखि तीनदिनसम्म चल्ने फोटो प्रदर्शनी काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२७ का वडाध्यक्ष खड्गीले फोटोको माध्यमबाट जात्रालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने कार्य गरेकोमा एनएफपीजेलाई धन्यवाद दिए ।
राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीको आयोजक सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति रहेको छ भने काठमाडौँ महानगरपालिका वडा नं. १७, २१, २५,२७ र २८ सहयोग गरेको छ । प्रदर्शनी रथयात्राको प्रमुख विश्राम स्थलमा रहनेछ ।

आज पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा हुनेछ । प्रदर्शनीमा करिब ३० जना व्यावसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दा बढी तस्वीरहरू राखिएका छन् । रथयात्रा मात्रै नभएर सेतो मच्छिन्द्रनाथ जात्रा अन्य विभिन्न पक्ष, प्रक्रियासँग सम्बन्धित छ, सो बारे जनमानसमा जानकारी दिनु यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सुनिल शर्माले बताए ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतिकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ ।
अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरू जात्रामा सहभागी हुन्छन् ।

लगनमा मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्य: लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघ:, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ ।
अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ ।

मूर्ति सेतो भएकाले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको विश्वास छ । देवताका अन्य नामहरूमा करुणामय, आर्य अबलोकितेश्वर पनि हुन् ।

















प्रतिक्रिया