
काठमाडौं, १६, चैत । नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नंं १ मा गोविन्द भट्टराई र चितवन निर्वाचन क्षेत्र नं. २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले भट्टराई र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै बारा निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार चयनका लागि फेरि छलफल गरिने र त्यसका लागि आगामी १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बस्ने निर्णय भएको पनि कांग्रेसका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र चितवन–२ रवि लामिछानेको सांसद पद खारेज भएपछि वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।
प्रवक्ता महतका अनुसार बैठकले पार्टीले तय गरेको मापदण्ड अनुसार मन्त्रिपरिषदमा सदस्य पठाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ ।
यस्तै, बैठकले मिटरव्याजी पीडितहरुको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मिटरव्याजीको समस्यामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।















प्रतिक्रिया