काठमाडौं, १५ वैशाख । अर्थमन्त्री रामशरण महतले सरकारले आगामी आर्थिक वर्षको बजेट जेठभित्रै संसदमा पेस गर्ने बताएका छन् । संसदको अर्थ समितिको बैठकमा आइतबार मन्त्री महतले असारभित्र पारित गरिसक्ने गरी जेठमै बजेट ल्याउने गृहकार्य भइरहेको जनाएका हुन् ।
बजेट पारित गर्न हुने ढिलाइले विकास खर्च र ठूला विकासका योजना कार्यान्वयन प्रभावकारी हुन नसकेको सन्दर्भमा अर्थमन्त्रीले यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्री उक्त संसदीय समितिको पदेन सदस्य हुन् ।
सदनका लागि खास ‘बिजनेस’ नभएकाले सरकारले मंगलबारै संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।
समितिका सचिव कृष्णहरि खडाका अनुसार बैठकले आफ्नो कार्यविधि प्रक्रिया सुरु गरेको हो । ‘पहिलो बैठक भएकाले कार्यविधि निर्माण प्रक्रिया मात्र सुरु गरेका छौं,’ उनले भने, ‘समितिले आफ्नो कार्यक्षेत्रका मन्त्रालयका प्रतिनिधिहरूलाई नियमित बैठकमा बोलाउने निर्णय पनि गरेको छ ।’
समितिको कार्यक्षेत्रमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय पर्छन् । सचिव खडाका अनुसार समितिले तीनै निकायका प्रतिनिधिहरूसँग ‘ब्रिफिङ’ लिएर काम अघि बढाउने छ । ‘सभापति चयनपछि नै यो प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
समितिको पहिलो बैठकमा अधिकांश सदस्यहरूले नेतृत्व चयन र नयाँ बजेटबारे जिज्ञासा राखेका थिए । संसदीय समितिमा सभापतिको निर्वाचन सभामुखले तोकेको मितिमा हुने नियमावलीको व्यवस्था छ । यसअघि संविधानसभाका पाँच वटा समितिको नेतृत्व चयन भइसकेको छ ।
सभामुख सुवास नेम्बाङले सभापति निर्वाचनको तिथि छिट्टै तोक्ने उल्लेख गर्दै गृहयकार्यका लागि दलहरूको ध्यानाकर्षण गराएका छन् । संसद सचिवालयका एक अधिकारीका अनुसार नेम्बाङले समितिको नेतृत्व व्यवस्थापनका लागि दलीय संख्या तलमाथि नपर्ने गरी सदस्यहरूको नाम हेरफेरको मौका दिन लागेका हुन् ।
‘सभापति निर्वाचनको तिथि घोषणापछि यस्तो हेरफेर गर्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘दलहरूले आवश्यक ठानेमा मंगलबारको बैठक अगावै यस्तो सिफारिस गर्नु आवश्यक छ ।’ कान्तिपुर दैनिकबाट











प्रतिक्रिया