
काठमाडौं, १५ चैत । मन्त्रालय भागबन्डाको सहमति जुटाउन आज बुधबार पनि सत्तारूढ दश दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
गठबन्धनमा भागबन्डाको सहमति नहुँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भइरहेको छ । यसअघि हिजो मंगलबार मन्त्रालय भागबन्डाको सहमति जुटाउन गठबन्धनको बैठक बसेको थियो । तर दलहरुलो आ-आफ्नो अडान नछोड्दा सहमति जुट्न नसकेको हो ।

बैठकमा नेपाली कांग्रेसले नौ वटा मन्त्रालयको अडान नछोड्दा सहमति जुट्न नसकेको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले पनि तीन/तीन मन्त्रालयको अडान कायम राखेका छन् । गठबन्धनमा रहेका अन्य साना दलहरुले मन्त्रालय पाउनुपर्ने अडान कायम राखेको बताइएको छ ।
गत सोमबारनै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीका साथ सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । तर भागबन्डा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् । छलफलमा गठबन्धनको बैठक बसेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेको थियो ।












प्रतिक्रिया